बुधबार , मंग्सिर १५, २०७८

ओलीलाई लिन गएका एमाले कार्यकर्ताले विमानस्थलमा कांग्रेस नेतालाई स्वागत गरे

मंग्सिर ९, २०७८ बिहिबार 39

ओलीलाई लिन गएका एमाले कार्यकर्ताले विमानस्थलमा कांग्रेस नेतालाई स्वागत गरे

चितवन- दशौं महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु आज चितवन आइपुग्दै छन्। अध्यक्ष ओलीसहितका नेता विहान साढे ११ बजे भरतपुर विमानस्थल आइपुग्ने भएसँगै एमाले नेता कार्यकर्ता विमानस्थलमा स्वागतका लागि पुगेका थिए।

तर, विमानस्थलबाट एमाले नेता नभइ कांग्रेस नेतासमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठ बाहिरिए। मन्त्री बाहिरिएसँगै पार्टी अध्यक्षको स्वागतका लागि लामबद्ध एमाले कार्यकर्ताले राज्यमन्त्री श्रेष्ठलाई स्वागत गरे। एमाले कार्यकर्ताले नमस्कार गर्दै स्वागत गरेपछि उनी हाँस्दै नमस्कार फर्काइरहेका थिए।

ओली लगायत एमाले नेताहरुको विमान ‘डिले’ भएको छ र उनी साढे १२ बजेमात्र चितवन पुग्ने भएका छन्। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहलसमेत बढेको छ।

एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेताहरु चितवन आउने क्रम जारी छ। महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताइन्। नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको लोगोमा अङ्कित गैँडाको मस्कट तयार गरिएको छ।

मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको उनले बताइन्। यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ। मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्माण गरिएको छ।यही मङ्सिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएका छन्। ‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन्।

प्रतिकृया दिनुहोस्