बुधबार , मंग्सिर १५, २०७८

कांग्रेस कास्की सभापतिमा पहिलो पटक महिला उम्मेदवार

मंग्सिर ८, २०७८ बुधबार 30

कांग्रेस कास्की सभापतिमा पहिलो पटक महिला उम्मेदवार

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा पहिलो पटक महिला उम्मेदवारी घोषणा भएको छ । अहिलेसम्म महिला सभापति बनेका छैनन् भने उम्मेदवारसमेत बनेको इतिहास छैन ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको पर्सीपल्ट नेतृ सरस्वती गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् ।उनी हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य हुन् भने २०७४ सालमा कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमेयरमा पराजित भएकी थिइन् ।

गुरुङले महिला सभापतिको इतिहास रच्न र पार्टीको नवनिर्माणका लागि आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी छिन् ।‘महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिँदा हजुरहरूले देखाउनुभएको सद्भाव, साथ र समर्थन मेरा लागि अमूल्य रह्यो । म तपाईंहरूको विश्वास प्रति नतमस्तक छु,’ फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘महाधिवेशन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ ।

म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु ।’उनी कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् । गुरुङ कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन् ।

प्रतिकृया दिनुहोस्