बुधबार , मंग्सिर १५, २०७८

देशभर भित्राउन तयार धानवालिलाई हावाहुरी र पानीले पुर्‍यायो क्षति

कार्तिक १, २०७८ सोमबार 9

पत्रिका नेपाल – देशभर पाकेर काट्न ठिक्क पारेका र काटिसकेर भित्राउन तयार पारिएका धानलाई पानीले क्षति पुर्‍याएको छ। दसैँ मनाएर धान काट्का किसानहरू हावाहुरीसहित पानी परेपछि चिन्तामा छन्।

कतै धान काटिसकेर सुकाइएको थियो भने कतै धान काट्ने तयारी चल्दै थियो। तर आइतबारदेखि निरन्तर परेको पानीले धानमा क्षति पुर्‍याएपछि किसानहरू मर्माहत छन्।


हावाहुरीले धान खेतमै ढलेको छ। धान पाकेर पहेँलै देखिएका फाँटहरू बाढी पसेर जलमग्न भएका छन्।

छिटो पाक्ने धान राधा ४, सर्जु ५२, सुख्खा ३, हर्दिनाथ १, गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, साबित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चाँदनी जस्ता धान किसानले काटिसकेका थिए।

कैलाली, कंचनपुर , रुपन्देहीको तिलोत्तमा, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटहीमाई, गैंडहवा, लुम्बिनी, मायादेवी लगायतका क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरुले बताएका छन्।

यसपालि धान रोप्ने बेला समयमै पानी परेकोले धेरै उत्पादन हुने किसानहरूको आशा थियो। पानीले भिजाएको धान केही दिनमा उम्रिन्छ।


कैलालीमा पनि क्षेति:

कैलालीका जयानन्द जोशीले दसैंपछि काटेर खेतमै सुकाएको धान उठाउन नपाउँदै पानीले डुबाएको बताए।

‘तिन कट्ठा खेतको धान काटिसकेको थियो, अरु पाकेर काट्न तयार थियो। काटेको र काट्न बाँकी रहेको धान पानीले नष्ट गरिदियो,’ उनले भने।

आइतबारदेखिको अविरल बर्षाका कारण कैलालीका विभिन्न फाँटमा पाकेको धानबालीमा क्षति पुगेको छ।

काटेर भित्र्याउने तयारी अवस्थाको धान पानीमा डुबेपछि किसान चिन्तित छन् । केही ठाउँमा काटेको धानबाली बाढीले बगाएको छ।

जिल्ला कृषि ज्ञान केन्द्र कैलालीका कृषि वरिष्ठ अधिकृत खगेन्द्र प्रसाद शर्माले अविरल बर्षाका कारण काटेको धानबालीमा ठूलो नोक्सानी पुगेको बताए। तर क्षतिको विवरण भने सार्वजनिक भइ नसकेको उनले जानकारी दिए।

‘सम्पुर्ण पालिकाका कृषि इकाइहरुमा सूचना संकलन गर्न आग्रह गरेका छौं,’ जोशीले भने, ‘अहिलेसम्म बर्षा जारी छ र क्षतिको विवरण कतैबाट पनि आइसकेको छैन।’

केन्द्रका अधिकृत जोशीले यो बर्ष कैलालीमा ७० हजार हेक्टरमा धान खेति भएको जानकारी दिए।

‘अहिलेसम्म किसानले झन्डै ५० प्रतिशत धान काटेको अनुमान छ,’ जोशीले भने, ‘कोटेको धानबालीमा ठूलो क्षति पुग्ने देखिएको छ।’

प्रतिकृया दिनुहोस्