शनिबार , माघ ८, २०७८

आलोचना हुन्छ भन्ने जान्दा जान्दै पिर्के सलामी खाएकी हुँ, मन्त्रीले सलामी खानु सामान्य कुरा हो :रामकुमारी झाँक्री

पुष १९, २०७८ सोमबार 44

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गृहजिल्ला गुल्मीमा खाएको पिर्के सलामीले व्यापक आलोचना भए पछि उनले यस बिषयमा स्पष्टीकरण दिएकी छिन् ।

 

सामाजिक संजालमा आलोचना हुन्छ भन्ने जान्दा जान्दै पनि आफुले पिर्के सलामी खाएको स्पष्टीकरण मन्त्री झाँक्रीले दिएकी छिन् । मन्त्री जस्तो विशिष्ट मान्छेलाई प्रहरीले सम्मान स्वरुप दिएको सलामीलाई सामान्य कुरा भएको भन्दै उनले आलोचना गर्नै नपर्ने जिकिर गरेकी छिन् ।

 

चर्को आलोचना पछि मन्त्री झाँक्रीको सचिवालय बाट भन्दै पिर्के सलामी बारेको स्पष्टीरण सामाजिक संजाल फेसबुकमै आएको छ । यस अघि आफु मन्त्री पदमा नभएका बेला अरु कसैले यस्तै पिर्के सलामी खाएको बिषयमा यिनै झाँक्रीले चर्को आलोचना गर्दै आएकी थिइन् । अहिले भने यसलाई सामान्य प्रक्रिया भनेर उनको सचिवालयले ढाकछोप गरेको छ ।

 

हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे । तर, यो कुनै आलोचना विषय भने हैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया हो ।’

 

आफूहरु विभिन्न कार्यक्रममा सहभागी हुनका लागि पाँच दिनदेखि गृहजिल्लामा रहेको र त्यसै क्रममा मदाने गाउँपालिकाको पुर्कोटदहस्थित इलाका प्रहरी कार्यालय निरीक्षण गर्न गएको विज्ञप्तिमा भनिएको छ ।

 

‘कार्यालय परिसरभित्र संघीय सरकारको मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान,कानुन अनुसार सम्मान स्वरूप सलामी दिने प्रचलन रहेछ,’ त्यहाँ भनिएको छ, ‘आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ ।’

 

हामीसगँ दुईवटा विकल्प थिए, पहिलो विकल्प प्रहरी कार्यालयको निरिक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा दोस्रो विकल्प कार्यक्रम रद्द गर्ने,’ विज्ञप्तिमा थप भनिएको छ, ‘हामीले पहिलो विकल्प नै रोज्यौं, आफ्नै गाउँपालिकाभित्र रहेको संघीय सरकारको महत्त्वपूर्ण कार्यालयको निरीक्षण गर्ने, यो प्रहरी कार्यालयसगँ मन्त्री ज्युको भावनात्मक सम्बन्ध पनि रहेको छ ।’

प्रतिकृया दिनुहोस्