सोमबार , अषोज ४, २०७८

यी हुन् तालिवानका प्रमुख नेताहरू, कसको जिम्मेवारी के ?

साउन ३२, २०७८ सोमबार 232


पत्रिका नेपाल – युद्धरत चरमपन्थी संगठन तालिवान अहिले विश्वभरका सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। अफगानिस्तानी सरकारविरुद्ध युद्धमा होमिएको यो संगठनले मे महिनादेखि मुलुकभर शृंखलाबद्ध आक्रमण सुरु गरेको थियो। तालिवानले गत १० दिनमा अफगानिस्तानका ३४ मध्ये २८ वटा प्रान्त कब्जा गरेको छ।

तालिवानले एकपछि अर्को गर्दै कन्दाहार, हेरात, जलालवादलगायतका मुख्य सहरहरू कब्जा गरिसकेको छ। अब तालिवानले कब्जा गर्न बाँकी मुख्य सहर भनेको राजधानी काबुल मात्रै हो। तालिवानले तीव्र गतिमा अफगानिस्तान कब्जा गर्नै लाग्दा पनि हालसम्म अफगानिस्तानका राष्ट्रपति असरफ घानीने राजीनामा भने दिएका छैनन्। तालिवानले आइतबार बिहान जलालवाद कब्जा गरेसँगै राजधानी काबुललाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। उसले चारैतिरबाट काबुललाई घेरिसकेको सञ्चारमाध्यमले बताइरहेका छन्।

के हो तालिवान ?

सन् १८८९ मा अफगानिस्तानबाट सोभियत संघको सेना  फिर्ता भएपछि तालिवान शक्तिशाली हुँदै गएको देखिन्छ। भ्रष्टाचार नियन्त्रण, सुरक्षाको प्रत्याभूतिलगायतका नारा लिएर अफगानिस्तानको दक्षिण पूर्वी भाग अर्थात् पाकिस्तानको सीमा क्षेत्रबाट तालिवानको उदय भएको थियो। सन् १९९८ सम्म आइपुग्दा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिवानको नियन्त्रणमा पुग्यो।

उनीहरूको सत्ता स्थापित भएपछि सरिया वा इस्लामिक कानुनको छुट्टै कट्टरपन्थी संस्करण लागू गरे र क्रूर दमन सुरु गरे। पुरुषहरूले अनिवार्य रूपमा दाह्री पाल्नुपर्ने र महिलाले अनिवार्य रूपमा बुर्का लगाउनुपर्ने नियम सुरु भयो। यसैबीचमा सन् २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको पेन्टागनमा आक्रमण गर्‍यो। घटनाको मुख्य योजनाकार थिए, ओसामा बिन लादेन।

अमेरिकाले घटनाबारे अनुसन्धान गर्दै जाँदा ओसामा बिन लादेन तालिवानको संरक्षणमा अफगानिस्तानमा रहेको तथ्य पत्ता लाग्यो। लादेनलाई विनासर्त आफूलाई बुझाउन अमेरिकाले तालिवानसँग आग्रह गर्‍यो। तर, तालिवानले आफ्नो आग्रहलाई अस्वीकार गरेपछि अमेरिकाले सैन्य कारबाहीबाट तालिवानलाई सत्ताच्युत गरिदियो। त्यसयता लगातार २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा रहँदै आएको थियो।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११, २०२१ सम्म सबै अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरे। अमेरिकाको यो निर्णयसँगै पछिल्लो समय तालिवानले शृंखलाबद्ध रूपमा आक्रमण गर्दै आइरहेको छ।

यी हुन् तालिवानका प्रमुख नेताहरू      

हैबातुल्लाह अखुन्जादा : अखुन्दाजा तालिवानको राजनीतिक, धार्मिक र सैन्य मामिला प्रमुख हुन्। सन् २०१६ मा पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा अमेरिकी ड्रोन हमलामा अख्तर मन्सुर मारिएपछि उनी सो पदमा रहँदै आएका छन्। उनको उमेर करिब ६० वर्ष जति रहेको अनुमान गरिन्छ। उनी सन् २०१५ देखि भूमिगत छन्। भूमिगत हुनुभन्दा पहिले उनले लगातार १५ वर्ष पाकिस्तानको एक मस्जिदमा धर्मगुरुका रूपमा काम गरेका थिए।

मुल्ला मोहम्मद याकुब : याकुब तालिवानका संस्थापक नेता मुल्ला मोहम्मद ओमरका छोरा हुन्। उनले तालिवानको सैन्य कारबाहीको अनुगमन गर्छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी अहिले अफगानिस्तानमा छन् । उनका बुबा ओमरको मृत्युपश्चात् संगठमा नेतृत्व विवाद  हुँदा उनलाई निर्विवाद नेताका रूपमा प्रस्ताव गरिएको थियो । तर, उनले आफूलाई युद्धमा भाग लिएको अनुभव नभएको र उमेरले पनि सानो भएको भन्दै अखुन्दाजालाई समर्थन गरेका थिए । उनी हाल ३० वर्ष भएको अनुमान गरिएको छ ।

सिराजुद्दिन हकानी : हकानी मुजाहिद्दिनका कमान्डर जलालुद्दिन हकानीका छोरा हुन्। उनी अहिले हकानी नेटवर्कका प्रमुख हुन्। ‘हकानी नेटवर्क’ पाकिस्तान–अफगानिस्तान सीमामा रहेर तालिवानको आर्थिक तथा सैन्य मामिला हेर्ने संगठन हो। हाकिनीको उमेर करिब ५० वर्ष अनुमान गरिएको छ।

मुल्ला अब्दुल घानी बरादर : बरादर तालिवानको संस्थापक नेतामध्ये एक हुन्। उनी मुल्ला मोहम्मद ओमरका विश्वासपात्र भएको मानिन्छ। उनलाई सुरक्षा फौजले सन् २०१६ मा पाकिस्तानको कराँचीबाट पक्राउ गरी सन् २०१८ मा रिहा गरेको थियो। उनी अहिले संगठनको राजनीतिक विभाग प्रमुख हुन्। उनी पछिल्लो समय कतारको दोहामा भएको शान्तिवार्ताका एक सदस्य थिए। तर, उक्त वार्ता प्रयास पछिल्लो समय विफल भएको छ।

शेर मोहम्मद अब्बास स्तानिकजाई : सन् २००१ मा तालिवान सरकार ढल्नुभन्दा पहिलेको सरकारमा उपमन्त्रीसमेत रहेका स्तानिकजाई करिब एक दशकदेखि कतारको दोहामा रहँदै आएका छन्। उनले अफगानिस्तानको सरकारसँग भएको वार्ता प्रयासमा सहभागी उनी हाल विभिन्न देशमा कूटनीतिक छलफलका लागि तालिवानको प्रतिनिधित्व गर्दै आइरहेका छन्।

अब्दुल हाकिम हक्कानी : हकानी तालिवानी वार्ता टोलीका प्रमुख हुन्। उनी तालिवानी छाया सरकारका पूर्वप्रधानन्यायाधीश पनि हुन्। उनी अहिले अखुन्दाजाका विश्वासपात्र मानिन्छन्।

प्रतिकृया दिनुहोस्