सोमबार , अषोज ४, २०७८

मनाङ र मुस्ताङका सबै नागरिकले कसरी पाए कोरोना खोप ?

साउन २१, २०७८ बिहिबार 200

       थानचोक खाेप केन्द्रतर्फ खोप लैजाँदै स्वास्थ्यकर्मी ।

पत्रिका नेपाल – हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । भौगोलिक विकटता, मौसमको प्रतिकुल अवस्था, बाढी, पहिरो जस्तो प्राकृतिक विपत्तिसँग जुधेर त्यहाँका स्वास्थ्यकर्मीले लक्षित समूहका सबैलाई खोप लगाएका हुन् ।

बाढी र पहिरोका कारण मनाङ सदरमुकाम चामे झण्डै डेढ महिनादेखि सडक सञ्जाल र विद्युत सम्पर्कबाट विच्छेद थियो । समेत वञ्चित थियो । त्यहाँ खोप पुर्‍याउनु मात्र होइन, सुरक्षित रुपमा भण्डारण गर्नु पनि चुनौतीपूर्ण थियो । तर स्वास्थ्यकर्मीले खोप अभियानलाई सफल बनाएका छन् ।

१४ माघ २०७७ मा खोप अभियान शुरु गर्दा स्वास्थ्यकर्मी र फ्रन्टलाइनरले र दोस्रो चरणमा ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई मात्र खोप लगाउने भनिएको थियो ।

मनाङ थोरै जनसंख्या भएको जिल्ला, त्यसमाथि भौगोलिक विकटता भएका कारण घरिघरि एउटै ठाउँमा खोप बोकेर नागरिकलाई लगाउन जान सहज थिएन । ‘बल्ल–बल्ल बोकेर खोप पुर्‍यायो, लक्षित समूह १०/१२ जना मात्रै हुन्थे,’ स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्य भन्छन् ।

उनले यही समस्या तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री, स्वास्थ्य सचिवहरुको जुम मिटिङमा राखे र मनाङ र मुस्ताङका सबै नागरिकलाई खोप लगाउने प्रस्ताव राखे । कतै कसैले नपाउने, कतै सबै नागरिक पाउँदा विरोध हुन्छ भनेर मन्त्रालयका अधिकारीहरुले उनको प्रस्तावमा सहमति दिएन ।

आचार्य भन्छन्, ‘अधिकारकै कुरा गर्ने हो भने पोखराका नागरिकले पाँच मिनेटमै सुविधासम्पन्न अस्पताल पुगेर उपचार पाउँछन् । तर मनाङ, मुस्ताङका जनताले कोभिड भयो भने अस्पताल नै देख्न नपाएर मर्नुपर्ने दिन आउँछ । त्यहाँका जनताले त्यो दिन भोग्न नपरोस् भनेर प्रस्ताव गरेको थिएँ ।’

पोखरामा बिरामी हुने वित्तिकै सुविधासम्पन्न अस्पताल जान सक्छन् । मनाङ र मुस्ताङमा त्यो सम्भव छैन । कोभिड भइहाल्यो भने अस्पताल देख्न नपाई ज्यान गुमाउनुपर्ने हुन्छ । त्यस्तै मनाङ र मुस्ताङको जनसंख्या थोरै छ । पोखराको एउटा वडामा खोप लगाउँदा वेस्टेज हुने खोपले यहाँको सबै जनसंख्यालाई पुग्नसक्छ ।

‘यहाँ एम्बुलेन्स गुड्ने बाटा छैनन् । कोभिडका बिरामीलाई अरु मानिसले बोकेर ल्याउन पनि सहज छैन । सबै जना हेलिकप्टर इफोर्ट गर्न सक्ने सक्षम पनि छैनन् । हेलिकप्टर इफोर्ट गर्न सक्नेले चाहँदा पनि मौसमका कारण सफल हुने अवस्था छैन’ उनले अघि भने, ‘त्यसैले मनाङ र मुस्ताङका जनताका लागि सर्वोत्तम विकल्प भनेको भ्याक्सिन नै हो भन्ने कुरा उठाइरहेँ ।’

उनका अनुसार संघीय सरकारको स्वास्थ्य मन्त्रालय र प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिनु भनेर नीतिगत रुपमा सहमति त दिएन, तर जिल्ला खोप समितिबाट निर्णय गराएर उपलब्ध खोप लक्षित समूहलाई मात्रै नभएर योग्य नागरिकलाई दिँदा अवरोध पनि भएन ।

चामेबाट पैदल हिँडेर तीन दिनमा पुगिने नार्पाभूमि गाउँपालिकामा फागुन २९–चैत १ सम्म सबै नागरिकलाई खोप दिएको उनी सुनाउँछन् । सरकारले चीनसँग सीमा जोडिएको ठाउँका सबै नागरिकलाई खोप दिने निर्णयलाई टेकेर नार्पाका सबै नागरिकलाई खोप दिइएको स्वास्थ्य कार्यालय, मनाङका प्रमुख आचार्य बताउँछन् ।

चैत–वैशाख–जेठमा कोरोनाको दोस्रो लहर आयो । खोप आपूर्ति पनि हुन सकेन । दुई देशको राष्ट्रपतिबीच भएको टेलिफोन सम्वादबाट चीनले अनुदानमा दिएको १० लाख खोप जेठ तेस्रो साता काठमाडौं आइपुग्यो । मनाङमा पनि असार १ गतेदेखि अर्को चरणको खोप अभियान सञ्चालन गर्ने निर्णय भयो ।

      पहिरोले बगाएको ताचे बगरछाप आधारभूत स्वास्थ्य केन्द्र ।
भीषण वर्षासँगै आएका बाढी र पहिरोका कारण राष्ट्रिय राजमार्गबाट जिल्ला सदरमुकाम चामेको सडक सम्पर्क विच्छेद भयो । जेठ ३१ देखि मनाङ विद्युत आपूर्ति पनि रोकियो । कतितय स्थानमा खोप पुर्‍याउन सकिएन भने पुगेका ठाउँमा पनि सुरक्षित रुपमा भण्डारण गर्न नसक्ने भएपछि बाढी प्रभावितका लागि राहत लिएको नेपाली सेनाको हेलिकप्टरमार्फत खोप केन्द्रबाट भ्याक्सिन संकलन गर्नुपरेको स्वास्थ्य कार्यालय प्रमुख आचार्य बताउँछन् ।

उनका अनुसार राम्रोसँग घाम नलाग्दा कार्यालयमा पनि सौर्य उर्जाले काम गरेन । पोखराबाट मगाइएको आइसप्याकले लामो समय धान्न नसक्ने भएपछि पोखराबाट इन्धन ल्याई जेनेरेटर चलाएर खोप भण्डारण गरेर नागरिकलाई लगाइयो । ‘खानेपानीका मुहान समेत बाढीले बगाएको थियो । एक हप्तासम्म आकाशको पानी खाएर स्वास्थ्यकर्मीहरु प्रभावित ठाउँमा बसे । अन्ततः स्वास्थ्यकर्मीहरुले नागरिकलाई खोप लगाएरै छाडे’ उनी त्यो क्षण सुनाउँछन् ।

         समुद्री सतहदेखि ३५७० मिटर उचाइमा अवस्थित मनाङको मेता खोप केन्द्रमा खोप लगाएपछि सामूहिक तस्वीर खिचाउँदै स्थानीय ।
असार अन्तिममा अमेरिकाबाट अनुदानमा दिएको १५ लाख जोनसन एण्ड जोनसनको खोप पनि आयो । प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश आपूर्ति केन्द्रलाई मनाङ र मुस्ताङमा जोनसनको खोप उपलब्ध गराउन पुनः आग्रह गरिएको उनले बताए ।

मनाङ र मुस्ताङका सबै नागरिकलाई खोप दिन आफूले दुई तर्क अघि सारेको उनी स्मरण गर्छन् । पहिलो तर्क : पोखरा र मनाङलाई एउटै आँखाले हेर्नुहुँदैन । पोखरामा बिरामी हुने वित्तिकै सुविधासम्पन्न अस्पताल जान सक्छन् । मनाङ र मुस्ताङमा त्यो सम्भव छैन । कोभिड भइहाल्यो भने अस्पताल देख्न नपाई ज्यान गुमाउनुपर्ने हुन्छ । एम्बुलेन्स जाने बाटो छैन । हेलिकप्टरबाट रेस्क्यू गर्न सबै नागरिक आर्थिक रुपले सम्पन्न छैन । हेलिकप्टरबाट रेस्क्यू गर्न सक्षम व्यक्ति पनि मौसमका कारणले अस्पतालसम्म पुग्न पाउँदैनन् । त्यसैले यहाँका जनताको पनि बाँच्न पाउने अधिकार सुरक्षित गर्न पनि खोप दिनुपर्छ ।

दोस्रो तर्क : मनाङ र मुस्ताङको जनसंख्या थोरै छ । पोखराको एउटा वडामा खोप लगाउँदा वेस्टेज हुने खोपले यहाँको सबै जनसंख्यालाई पुग्नसक्छ । अन्ततः प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश आपूर्ति केन्द्रले जोनसनको पनि खोप पठाउने निर्णय गर्‍यो । ‘हामी नेपाल’ नामक संस्थाले चामे र अप्पर मनाङसम्मका खोप केन्द्रसम्म खोप पुर्‍याउन सघाएको स्वास्थ्य कार्यालय प्रमुख आचार्य बताउँछन् ।

मनाङमा कतिले लगाए खोप ?

२,२४६ वर्ग किमी क्षेत्रफलमा फैलिएको मनाङको कुल जनसंख्या ६,५३८ (२०६८ को जनगणना) छ । उनीहरुमध्ये खोप लगाउने योग्य १८ वर्षभन्दा माथिका नागरिक ४५०० रहेको स्वास्थ्य कार्यालयको प्रक्षेपण थियो । केही कामको शिलशिलामा देशविदेशमा रहेका कारण खोप लगाउने नागरिक ४१९८ छन् ।

२ हजार ९६ जनाले कोभिशिल्डको दुबै डोज लगाएका छन् भने २ हजार २७ जनाले जोनसन एण्ड जोनसनको खोप र ७५ जनाले भेरोसेलको दुबै डोज खोप लगाएका छन् । कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना बाँकी छन् ।

मुस्ताङको कथा पनि उस्तै

मुस्ताङमा पनि पोखराबाट खोप पुर्‍याउनै कठिन थियो । कतै गाडीबाट कतै मान्छेले बोकेर खोप जिल्लासम्म ल्याएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टीकाराम भण्डारीले सुनाए । जिल्लामा १६ वटा स्वास्थ्य चौकी भएपनि २५ वटा वडामा खोप पुर्‍याएर खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।

सबै वडामा खोप पुर्‍याउँदा भोग्नु परेको दुःख शब्दमा बयान गर्न नसकिने उनी बताउँछन् । ‘गाउँगाउँमा खोप पुर्‍याउन धेरै खोलाहरु पार गर्नुपर्थ्यो । खोलामा पुल नभएका कारण जोखिम मोलेर खोप तार्नुपर्थ्यो । कतिपय खोप केन्द्रसम्म सडक पहुँच भएपनि खोलामा आएको बाढीले त्यहाँसम्म पुग्न सक्ने अवस्था थिएन’ उनी भन्छन् । तर स्वास्थ्यकर्मीका दृढ इच्छाशक्ति, स्थानीय जनप्रतिनिधिको सहयोगमा खोप कार्यक्रम सफल पारिएको उनी बताउँछन् ।

जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकसँगै कामको सिलसिलामा आएका यहाँ रहेका नागरिकहरुलाई समेत कोरोनाविरुद्धको खोप दिइएको छ ।

२०६८ सालको जनगणना अनुसार मुस्ताङको कुल जनसंख्या १३,४५२ छ । तर १८ वर्षभन्दा माथिका ९ हजार ३०० जनाले दुबै डोज खोप लगाएका छन् । मुस्ताङका कार्यरत बाहिरी जिल्लाका २१३ जनाले पनि दुबै डोज खोप लगाएका छन् ।

६ हजार ७२१ जनाले जोनसन एण्ड जोनसनको खोप लगाएका छन् भने २ हजार ४७२ जनाले कोभिशिल्ड र ३२० जनाले भेरोसेलको दुबै डोज लगाएका छन् ।

मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए, जसमध्ये १५ जनाको मृत्यु भएको थियो । अहिले २३ जना सक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्