सोमबार , अषोज ४, २०७८

साउन एक गतेदेखि विदेशबाट पठाएको फोन न’चल्ने ।

असार २२, २०७८ मंगलबार 176

पत्रिका नेपाल – आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन ”नेपालमा नचल्ने” भएको छ ।

 

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने नेपाल दुरसञ्चार प्राधिकरणका  अधिकारीहरूले बताएका छन्।

 

त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

 

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यमा पनि एमडीएमएसबाट अवैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउने र मोबाइल प्रयोग गरी हुने आपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिएको उल्लेख गरिएको थियो।
प्राधिकरणका सहायक प्रवक्ता मिश्र कसैलाई पनि सञ्चारविहीन बनाउने आफूहरूको उद्देश्य नरहेको बताउँछन्।

 

सुरक्षित सञ्चारका लागि प्राधिकरणले फोन दर्ता गराउन खोजेको उनले प्रस्ट्याए।

 

प्राधिकरणको प्रणालीले ‘डिटेक्ट’ गरिसकेको मोबाइल फोन असार महिनापछि पनि चल्ने उनी बताउँछन्।उनका अनुसार नयाँ आउने मोबाइल फोनको हकमा भने दर्ता भएपछि मात्रै चल्नेछ।

 

”बाँकी जसको दर्ता भएको छैन एसएमएस र इमेल मार्फत सूचना दिएर सबैलाई यो प्रक्रियामा ल्याउँछौँ। चलिरहेको मोबाइललाई रोक्दैनौँ,” उनले भने।

 

विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूले आफ्ना परिवार सदस्य र साथीभाइलाई मोबाइल फोन ल्याइदिने वा पठाइदिने गरेका छन्।

 

त्यसबाहेक अन्य प्रयोजनका लागि विदेश जानेहरूले खरिद गर्ने सामाग्रीमा मोबाइल फोन पनि पर्ने जानकारहरू बताउँछन्।

मोबाइल फोन व्यवसायीहरूले आयात गरेको फोन उनीहरूले नै दर्ता गरिदिने भएकाले सर्वसाधारणहरूले त्यो प्रक्रिया पूरा गर्नु नपर्ने अधिकारीहरू बताउँछन्।

 

तर विदेशबाट आएका मोबाइल फोन भने प्रयोगकर्ता स्वयंले दर्ता गर्नुपर्ने हुन्छ।
प्राधिकरणका अनुसार एमडीएमएसको प्रयोग फोन आयातकर्ता, भन्सार विभाग, कानुन पालना गराउने निकाय र टेलिकम कम्पनीहरूले गर्नेछन्।

 

त्यसले गर्दा चाहेको अवस्थामा आईएमईआई नम्बर दर्ता गर्नका लागि सम्बन्धित फोन सेटले प्रक्रिया पूरा गरेको छ छैन भन्ने विषय सम्बन्धित निकायले थाहा पाउने मिश्रले बीबीसीलाई जानकारी दिए।

भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकालले व्यक्तिगत रूपमा नेपालमा यात्रुले आफूले नै प्रयोग गर्ने गरी एउटासम्म फोन बोकेर ल्याउँदा समस्या नहुने बताउँछन्।
”त्योभन्दा बढीचाहिँ ल्याउन पाइँदैन,” उनले भने।

उनका अनुसार एउटाभन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याए सरह नै कर लागु हुन्छ।

फोनको मूल्यका आधारमा सुरुमा २.५ प्रतिशत अन्त: शुल्क र त्यसपछि १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने ढकालले जानकारी दिए।

प्राधिकरणले नेपालको जनसङ्ख्याको लगभग ७० प्रतिशतले सक्रिय रूपमा मोबाइल प्रयोग गरिरहेका छन् भन्ने हिसाब गरेको र ती सबै फोन प्राधिकरणको प्रणालीमा सूचिकृत गराउने आफूहरूको प्रयास रहेको मिश्रले जानकारी दिए।

प्रतिकृया दिनुहोस्